Blog

प्रकाश सपुतको गीतबारे के भन्छन् स्रष्टाहरू?

२०७८, फाल्गुन, सोमबार

माओवादी द्वन्द्वपछि लडाकूहरूले भोग्नुपरेको जीवनबारे प्रकाश सपुतले गाएको 'पीर' गीत चर्चामा छ। माओवादी नेता-कार्यकर्ताले उक्त गीत युट्युबबाट हटाउन दबाब दिइरहेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले यो गीतबारे पक्ष-विपक्ष वा तर्क-बितर्क भए पनि उत्तेजित हुन जरूरी नभएको बताएका छन्। गायक प्रकाशले पनि कसैको आत्मसम्मानमा चोट पुगेको भए माफ गरिदिन सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन्। सँगसँगै उनले आफूले बनाएको गीति भिडिओको पक्षपोषण पनि गरेका छन्।

यो स्टोरीमा हामी गीतको भिडिओमा प्रस्तुत कथा र त्यसबारे विभिन्न स्रष्टाहरूको धारणा समेट्दै छौं।

 

उनीहरू प्रकाशको कुरा सुन्नु त परै जाओस्, उनले ल्याएको निवेदन पनि फालिदिन्छन्।

यसबीच सुरक्षा विदेश गएपछि प्रकाश देह व्यापारमा संलग्न एक युवतीकहाँ पुग्छन्। ती युवती पनि प्रकाशसँगै सशस्त्र युद्ध लडेकी छापामार हुन्छिन्। युद्धमै गोली लागेको र जीविकोपार्जनका लागि देहव्यापार गर्न बाध्य पात्रको भूमिका गरेकी छन् केशु पुन मगरले। गीतको यही दृश्यलाई लिएर माओवादी नेता-कार्यकर्ता प्रकाशमाथि खनिएका छन्।

कुनै सिर्जनात्मक अभिव्यक्तिलाई लिएर यति ठूलो कोकोहोला मच्चाउनु राजनीतिक पार्टीको निम्ति असुहाउँदो भएको सर्जकहरू बताउँछन्।

गीतको प्रस्तुतिलाई लडाकूहरूले भोग्नुपरेको जीवनको चित्रणका रूपमा बुझ्नुपर्ने गायक रामेश श्रेष्ठको भनाइ छ।

'शान्ति सम्झौतापछि माओवादी लडाकूहरू कसैलाई सेनातिर पठाइयो, कसैलाई अयोग्य भनेर बाहिर निकालियो। युद्धका लागि योग्यहरू युद्धपछि अयोग्य ठहरिए। त्यसपछि उनीहरूको जीवनमा आएको दु:ख, पीडा र भोकको चित्रण नै यो गीतमा छ,' जनवादी गीत गाएर पञ्चायती व्यवस्थाविरूद्ध आन्दोलन छेडेका रामेशले भने।

उनका अनुसार गीतको भिडिओमा छोरीको पढाइप्रतिको चिन्ततलाई मार्मिक ढंगले छायांकन गरिएको छ।

'माओवादी युद्धपछि नेताहरू सत्तामा पुगे। उनीहरूलाई धनको कमी भएन। गरिबको पक्षमा नारा दिँदै क्रान्ति गरेका नेताहरू क्रान्तिपछि कुबेरपति भए। उनीहरूका सन्तान स्तरीय शिक्षाका लागि देश-विदेश गएर पढ्न थाले,' उनले भने, 'युद्धमा लागेका गरिबका छोराछोरीलाई भने विश्वासघात भयो। जसलाई असल देश र राम्रो व्यवस्थाको सपना देखाइयो, उनीहरू गुजारा चलाउनै हम्मेहम्मे पर्ने अवस्थामा पुगे।'

यसरी देशको राजनीति र सामाजिक अवस्था चित्रण गरेर प्रकाश सपुतले राम्रो गीत बनाएको रामेशको विश्लेषण छ।

'नेताहरूले जनयुद्धका नाममा, सिद्धान्तका नाममा सुन्दर सपना देखाए। स्वास्थ्य, शिक्षा, रोजगारी र सम्मानपूर्ण जीवनको बाचा गरे। यथार्थमा उनीहरूमाथि धोका भएको देखिन्छ,' रामेशले भने, 'भिडिओको एउटा राम्रो पक्ष के भने, यसमा जनयुद्धलाई गाली गरिएको छैन। बरू माओवादीमा लागेकाहरूको जीवन कति दयनीय बनेको छ, व्यक्ति–व्यक्तिको अवस्था के छ भनेर हेर्ने र सोच्ने मौका दिएको छ।'

उनले अगाडि भने, 'वास्तवमा युद्धपछि सुख पाउनेहरू कति होलान्? पाँच प्रतिशत होला। ९५ प्रतिशतले त यो गीति भिडिओमा देखाइजस्तै दु:ख पाइरहेकै छन्। त्यसैले म यो गीतमा विरोध गर्नुपर्ने कुनै कारण देख्दिनँ। योभन्दा मार्मिक भोगाइ र कथाहरू त हजारौं हजार छन्। तिनलाई पनि कुनै बेला यसरी नै दृश्यांकन गरिएला।'

भिडिओमा देखाइएजस्तो देह व्यापारमा लागेको विषय पनि सामान्य भएको उनको भनाइ छ।

'मैले सामाजिक सञ्जालमा हेरेँ। एक-दुई जनाले जनयुद्धमा लागेका मान्छेले देह व्यापार गर्दैनन् भनेका छन्। भिडिओमा पनि सबैले गर्छन् भनेर कहाँ भनिएको छ र?' रामेशले थपे, 'केहीले बाध्य भएर यस्तो गर्नुपर्‍यो भनेको हो।'

'सबैलाई थाहा छ, माओवादीमा लागेका कतिपय मान्छे किर्ते काममा लागे। कतिले तर्साएर, काटेर, मार्छु भन्दै धम्क्याएर खाए। यसको अर्थ सबै त्यस्ता भएका होइनन्। नक्कली काम गर्ने अपवाद जहाँ पनि हुन्छ। सबैलाई त्यही भनेको भनेर बुझ्नु हुँदैन। यस्तो कुराबाट माओवादीहरू तर्सेको देखेर मलाई अचम्म लागेको छ,' उनले भने।

माओवादी द्वन्द्वमा संलग्न र सांस्कृतिक गीत गाउँदै हिडेका माइला लामाले प्रकाशको गीतलाई दुई दृष्टिबाट हेर्नुपर्ने बताउँछन्।

'नकारात्मक दृष्टिबाट हेर्दा जानेर वा नजानेर विषयवस्तु जसरी प्रस्तुत भएको छ त्यसले सशस्त्र द्वन्द्व गलत थियो भन्ने भाव देखिन्छ,' विप्लव माओवादीमा संलग्न माइलाले भने, 'सकारात्मक रूपमा हेर्ने हो भने प्रचण्ड र बाबुरामको विचलन र धोकाधडीपछि क्रान्ति पराजित भयो र त्यसले उत्पन्न गराएका समस्यालाई यो गीतले सम्बोधन गर्न खोजेको छ।'

यो गीतमा प्रकाशले निराशावादी दृष्टि राखेकोमा उनले असन्तुष्टि व्यक्त गरे।

'उहाँले उजागर गर्न खोज्नुभएको समस्या पुँजीवादको हो। जनयुद्ध र त्यसपछिको जीवनलाई उहाँले जसरी प्रस्तुत गर्नुभएको छ, त्योभन्दा अगाडि पनि हजारौं, लाखौंको जीवन बर्बाद भएकै थियो,' माइलाले भने, 'यो गीतमा जुन निराशा अभिव्यक्त गरिएको छ, त्यसलाई चिर्दै क्रान्ति जारी छ। हामी लडिराखेका छौं।'

माइलाले माओवादी द्वन्द्वमा सहभागी कतिपयको जीवनमा दु:ख रहेको स्वीकार गरे। आफ्नै अनुभव सुनाउँदै उनले भने, 'म एउटा कार्यक्रममा मलेसिया गएको थिएँ। सँगै युद्ध लडेका भाइहरूलाई जोहरबारू सहरमा भेटेँ। पेनाङ सहरमा भेटेको एक जना भाइले त आफू गैरकानुनी हैसियतमा बसेको बताए। प्रहरीले कति बेला गिरफ्तार गर्छ थाहा छैन भन्दै थिए।'

ती व्यक्तिले माइलालाई सुनाएका रहेछन्, 'म जनयुद्धमा लडेँ, युद्ध सकिएपछि प्रचण्ड र बाबुरामले मलाई विदेशको सहरमा फालिदिए।'

गीतको भिडिओ युट्युबबाट हटाउन आवश्यक नरहेको बताउँदै उनले भने, 'त्यति धेरै किन आतंकित हुनुपर्‍यो? आखिर पुँजीवादले पैदा गरेको समस्या नेपाली युवायुवतीले झेलिराखेकै छन्। यो राज्यले खडा गरेको समस्या हो। पुँजीवादको समस्या हो।'

उता 'बिसे नगर्चीको बयान' जस्तो दोस्रो जनआन्दोलनको प्रेरणादायी कविता लेखक एवं गीतकार श्रवण मुकारूङ भने सपुतले तयार पारेको भिडिओमा 'कलाको प्रयोग' सही ढंगले नभएको बताउँछन्।

'भिडिओमा थोरै समस्या छ। शब्द, संगीत र गायकी ठिकै छ। अलिकति आत्मसम्मानको विषय पनि हेर्नुपर्थ्यो,' श्रवणले भने, 'अभिव्यक्ति स्वतन्त्रता भएको ठाउँमा आफ्नो कुरा भन्न पाइन्छ। तर स्वतन्त्रता भनेको अनुशासन पनि हो। त्यसलाई विवेक भने पनि हुन्छ। स्रष्टाहरूले त्यसलाई सम्मान गर्नुपर्छ भन्ने लाग्छ।'

उनले यथार्थ देखाउने उद्देश्य भनिए पनि सबै यथार्थ देखाउन नसकिने बताए।

'मलाई भिडिओ अलिकति अप्ठ्यारो लाग्यो। द्वन्द्वकालमा लडाकू भएर संघर्ष गरेका दुवैलाई अनुचित देखाइयो,' श्रवणले भने, 'यौनकर्मी पनि लडाकू र त्यसलाई भोग्न जाने पनि लडाकू नै बनाउँदा अलिकति भल्गर जस्तो लाग्यो।'

स्वतन्त्रता उपभोग गर्दा आत्मअनुशासन ख्याल गर्न उनले प्रकाशलाई सुझाव दिए।

'मलाई कुनै पक्षमा लाग्नु छैन। तर कलाले कुनै विषय छान्दा ढंग पुर्‍याउनुपर्छ। कुनै समुदायलाई चोट पर्ने गरी ठाडै प्रस्तुत गर्नुहुन्न,' श्रवणले भने, 'हामी आफैं लडाकू भएर सोचौं न। अलिकति मनमा दु:ख लाग्ने देखिन्छ।'

यति हुँदाहुँदै यो गीत फाल्ने, बन्देज गर्ने, बहिष्कार गर्ने वा माफ माग्ने भन्ने कुरा असुहाउँदिलो भएको उनले बताए।

'प्रकाशले आत्मसमीक्षा गर्नुपर्छ। स्रष्टा भगवान होइन,' श्रवणले भने, 'ऊ पनि समाजको सदस्य हो। गल्ती गर्दैन भन्ने हुँदैन। उसले आत्मसमीक्षा गर्नुपर्छ। तर उसलाई दण्डित गर्ने, माफी मागाउने, बन्द गर्ने भन्ने अधिनायकी कुरा हो। त्यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन।'